काठमाडौँ - स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बार्सिलोनाले फराकिलो जित हात पारेको छ। उसले रियाल भालाडोलिडविरुद्ध ४-० को सहज जित हात पारेको हो।
क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २, पेड्री र सेर्गी रोबर्टोले १/१ गोल गरेका थिए। खेलको २४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो।
४३ औं मिनेटमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाएका थिए। ६४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
थप गरिएको समयमा रोबर्टोले गोल गर्दै घरेलु टोलीलाई ४-० को सहज जित दिलाएका थिए।
जितसँगै ३ खेलमा ७ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहँदा पराजित भालाडोलिड समान खेलबाट १ अंकका साथ १९ औं स्थानमा रहेको छ।