इलाम - प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ। यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन्।
इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चालु आव २०७९/८० मा २४ प्रशिक्षार्थी नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता भएको हो। नगरप्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दीपक खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नगरपालिकाभित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा पाँच, बाली विज्ञानमा पाँच, वन विज्ञानमा पाँच, सिभिल इन्जिनियरिङमा पाँच र फार्मेसीमा चारजना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख थापाले बताए। उनले क्षमता भएर पनि आर्थिक रुपमा पछि परेका परिवारका सदस्यहरुले प्राविधिक विषय अध्ययन गर्न नपाएको जनाउँदै यस्तो कार्यक्रम अगाडि सारिएको बताए। यो कार्यक्रमले विपन्न र पिछडिएका समुदायका छात्रछात्रालाई राहत मिल्ने बताइएको छ।
इलामको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा हाल देशभरिका विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन्। रोजगारीको सुनिश्चितता हुने भएकाले पनि पछिल्लो समय प्राविधिक विषयमा धेरै विद्यार्थीहरुको रुचि बढ्न थालेको पाइएको छ।