काठमाडौँ - रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका इन्द्र चौधरीको अनुसन्धानात्मक किताब प्रकाशन भएको छ। उनले लेखेको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।
नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारू समुदायमा रहेको प्रचलित लोककथा र त्यसको मिथकबारे किताब मुख्य विषयवस्तु बनाइएको छ।
‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन्। यसमा लोकआस्था, लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्छन्, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो। एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत हुने गर्छ। त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरी संरक्षणको आवश्यक छ।’
‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज पनि सुक्षम ढंगले नियाल्ने र बुझ्ने मौका पाए तर वर्तमान समयमा आधुनिकताका प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। र, लोककथा संकलन गर्न थालेँ र आज पुस्तकारको रूपमा आएको छ,’ उनले भने।