अन्यौलमा छ नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण

काठमाडौँ - दश दिनपछि अर्थात यही मंसिर ४ गतेदेखि कतारमा प्रारम्भ हुने फुटबलको महाकुम्भ २२ औं फिफा विश्वकप फुटबलको नेपालमा हुने प्रत्यक्ष प्रसारण अन्यौलमा परेको छ। केही दिनअघि सर्वोच्च अदालतले दिएको आदेशपछि नेपालमा गरिने प्रत्यक्ष प्रसारण अन्यौलमा परेको हो।

विज्ञापन एजेन्सी मिडिया हबले फिफासंग विश्वकप फुटबलको नेपालका लागि प्रत्यक्ष प्रसारणको अधिकार खरिद छ। त्यसका लागि मिडिया हबले ६४ खेल हेरे वापत दर्शकले ५ सय रुपैयाँ शुल्क उठाउने तयारी गरेको थियो। यही अनुसार मिडिया हबले विश्वकप फुटबलको ग्राहक प्याकेज बिक्रीको प्रकृयासमेत अघि बढाएको थियो।

यद्यपि, शुल्क उठाउने मिडिया हबको घोषणाविरुद्ध परेको मुद्दामा दुई दिनअघि सर्वोच्च अदालतले ग्राहकबाट थप दस्तुर उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। यसका लागि सर्वोच्च अदालतले मिडिया हबलाई कात्तिक ३० गते उपस्थित हुन आदेश गरेको छ।

योसंगै मिडिया हबलाई विश्वकप प्रारम्भ हुन ४ दिन बाँकी रहेको समय राखेर अदालत बोलाइएकाले नेपालमा विश्वकपको प्रसारण अन्योलमा परेको हो। मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल भन्छन्- ‘अदालतको आदेशले विश्वकपको प्रसारण अन्यौलमा परेको छ।’ धितालले अदालती प्रकृयामा पूर्ण सम्मान रहेको भन्दै यथास्थितिमा राख्ने आदेशले सम्पूर्ण तयारी रोकिएको तथा यसले समयमा प्रसारण प्रारम्भ गर्न चुनौतीपूर्ण भएको बताएका छन्।

फिफाबाट दक्षिण एसियाका लागि प्रशारण अधिकार प्राप्त गरेको भायकम १८ लाई हालसम्म मिडिया हबले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने स्थानीय तहमा झन्डै थप ५ करोड रुपैयाँ खर्च भइसकेको छ।

धितालका अनुसार नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न करिब ४५ करोड रुपैयाँ लाग्ने छ। धितालले फिफाले विश्वकपका खेलहरूको प्रसारणमा नेपालको टेरिटोरी लक गर्ने दावी गरेका छन्। ‘मिडिया हबबाहेक नेपालमा अरू कुनै पनि माध्यमबाट कतार विश्वकप हेर्न पाइँदैन, धितालको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×