काठमाडौँ - एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ।
पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ। एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।
एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ। यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो। मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ। उक्त खेल चैत १२ गते हुनेछ।
मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ। प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ। समूह ‘डी’ भारतको गोकुलम केरला, बङ्गलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ।