कोभिड सङ्क्रमण घट्दै गएपछि म्याग्दीको पर्यटन व्यवसाय तङ्ग्रिँदै

काठमाडौँ - कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बी एवं पर्यटकहरूको चहलपहल बछ्न थालेको छ।

म्याग्दीका मालिका धुरी, गाजने लगायतका ठाउँमा घुम्न आउने धार्मिक पर्यटकको चहलपहल बढेको छ। धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेको होटल व्यवसाय सञ्चालन गरिरहेका डम्मर घर्तीले बताए। लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्नेगरी मन्दिर खुला गरेपछि भक्तजनको भीड बढेको बगरफाँटस्थित दुर्गाभगवती मन्दिर व्यवस्थापन समितिका सचिब दीपक घिमिरेको भनाइ छ।

मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो। ओमिक्रोन सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो।

यसैगरी, म्याग्दीका पर्यटकीय तथा ऐतिहासिकस्थलमा पनि फागुनको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। सदरमुकाम बेनी बजारमा पनि फागुन लागेसँगै व्यापार व्यवसायका साथै चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन्। कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो। 
तर, फागुनदेखि सङ्क्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×