कर्नाटकमा धार्मिक साम्प्रदायिकता भड्किदै. माहोल हिंसात्मक बन्दै

नयाँदिल्ली- भारतको कर्नाटकस्थित एक कलेजमा धार्मिक साम्प्रदायिकता भड्किँदा त्यहाँको माहोल हिंसामा बदलिएको छ। हिन्दु र मुस्लिमबीचको विवाद अहिले ठूलो मुद्दा बनेको छ।

हाल उक्त मुद्दा अदालतसम्म पुगेको छ । कलेजमा भने लामो समयसम्म प्रदर्शन र नारावाजी हुनुका साथै दुई पक्षबीच ढुंगा हानाहान समेत भयो। यो घटना मान्ड्यास्थित पीईसी कलेजको हो। जहाँ यसै साता हिजाब पहिरिएकी मुस्लिम छात्रा कलेजमा प्रवेश गरिरहँदा हिन्दु युवकहरूको समूहले 'जय श्रीराम'को नारा लगाउन दबाब दिए।

हिन्दु युवाहरूको समूहले घेरेर 'जय श्रीराम'को नारा लगाउन लगाउँदा युवतीले भने आक्रोशित हुँदै मुस्लिम धर्म अनुसार 'अल्लाह हू अकबर' को नारा लगाइदिइन्। ती छात्राले एकोहोरो नारा लगाइरहँदा हिन्दु युवाहरूसँग झडप सुरु भइसकेको थियो।

कर्नाटकमा हिजाबको विषयलाई लिएर जनवरीमा नै विवाद सुरु भएको थियो। उक्त सरकारी कलेजमा ६ मुस्लिम छात्राहरूले हिजाब पहिरिएर कक्षामा प्रवेश गरेपछि उनीहरूलाई बन्देज लगाइएको थियो। जसकारण कलेज व्यवस्थापनले पनि नयाँ पोसाक नीति घोषणा गरेको थियो। त्यसपछि केही छात्राहरूले उच्च अदालतमा मुद्दा दायरसमेत गरेका थिए। छात्राहरूले भने हिजाब पहिरन गर्न नदिनु संविधानको धारा १४ वा २५ का अनुसार मौलिक अधिकारको हनन भएको तर्क गरेका छन्।

यस्तै गत शुक्रबार कुन्डापुरस्थित भण्डारकर कलेजको गेटमा पनि ४० जना युवतीहरूले हिजाब पहिरिएर जाँदा उनीहरूले प्रवेश पाएनन्। सोही क्षेत्रको अर्को स्कुलमा हिन्दु युवकहरूलाई पनि प्रतिशोधको रुपमा (भगवा) हिन्दु धार्मिक पहिरन लगाइयो। यससँगै विभिन्न हिन्दु संगठनहरूले धार्मिक पहिरनको अभियान नै सुरु गरे।

यसै सन्दर्भमा कुण्डापुर कलेजका २८ जना मुस्लिम युवतीहरूलाई हिजाब पहिरिएर कक्षामा प्रवेश गर्न दिइएन। त्यसपछि उनीहरूले उच्च अदालतमा मुद्दा दायर गरेका हुन्। उनीहरूले भने आफ्नो धर्ममा हिजाब अनिवार्य भएकाले अनुमति पाउनुपर्ने बताउँदैआएका छन्। उनीहरूले यसअघि कलेज गेटमा धर्ना र प्रदर्शन पनि गरिसकेका छन्।

यतिसम्म कि हिन्दु र मुस्लिमबीच तनाबकै कारण कर्नाटकका विजयपुराका दुई कलेज शान्तेश्वरा पीयू र जीआरबी कलेजमा दुई दिनसम्म छुट्टी नै दिइयो। तर यही सोमबार कुण्डापुराको सरकारी कलेजमा मुस्लिम छात्रालाई हिजाब पहिरिएर आउन त दिइयो तर यससँगै उनीहरूलाई छुट्टै कक्षामा बसेर पढ्नुपर्ने नियम बनाइयो।

कर्नाटकका विभिन्न कलेजमा युवा पुस्तामाझ नै पछिल्लो समय यस्ता धार्मिक साम्प्रदायिकता उत्तेजित रुपमा उठ्दैआएका छन्। यसअघि सत्तरुढ भारतीय जनता पार्टीका नेताहरूले भने खुलेआम रुपमा धार्मिक गतिविधि बढाउने र आफ्ना विरोधी समूहमाथि हमला गर्नेसम्मको चेतावनी दिएका थिए। भारत सरकारले यही फेब्रुअरी १० तारिखका दिन पहिलो चरणको चुनावको तयारी गरिरहँदा यस्ता धार्मिक साम्प्रदायिकता उग्र बन्दैगएका छन्। कान्तिपुरबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×