फ्राइडे रिलिज: 'ब्रह्मास्त्र'सँग भिड्दै 'गुर्खा' र 'ऐना झ्यालको पुतली', 'झिँगेदाउ' दोस्रो हप्तामा

काठमाडौँ - आजबाट २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ। 'गुर्खा: बिनिथ द ब्रेभरी' र 'ऐना झ्यालको पुतली' गरी २ वटा फिल्म प्रदर्शनमा आएका हुन्।

सेट डिजाइन, भीएफएक्स र वार मुभी भएकाले गुर्खा लामो समयदेखिको प्रतीक्षित फिल्म हो। यता ऐना झ्यालको पुतलीले प्रिमियर शोहरूमा उल्लेखनीय तारिफ बटुलेको छ। अधिकांशले फिल्मबारे सकारात्मक समीक्षा दिएपछि यो फिल्म पनि प्रतीक्षित बनेको छ।

गुर्खाका निर्देशक प्रदीप शाही हुन्। भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिक कुलवीर थापाको जीवनी यो फिल्म आधारित छ। फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट, ओली लगायतको अभिनय रहेको छ। यो फिल्म एक घण्टा १२ मिनेटको छ।

यस्तै ऐना झ्यालको पुतलीका निर्देशक सुजित विडारी हुन्। यो फिल्ममा दिनेश खत्री, सिरु विष्ट, कञ्चन चिमरिया लगायतको अभिनय रहेको छ। यो फिल्म २ बालबालिकाको मनोविज्ञान, सपना र संघर्षमा केन्द्रित छ। फिल्मले बाल्यकालको याद दिलाएर नोस्टाल्जिक बनाउने बताइएको छ। चलचित्र एक घण्टा ३६ मिनेटको छ।

यी फिल्मलाई आज व्यापार गर्न सहज भने छैन। किनकी बलिउडको हाइ बजेट र स्टारकास्टले भरिएको 'ब्रह्मास्त्र' आज रिलिज भएको छ। रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन लगायतको अभिनय रहेको यस चलचित्रलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्। यस चलचित्रलाई लिएर बलिउड अति नै उत्साहित र आशावादी पनि रहेको छ।

बलिउडमा हालसम्म यस वर्ष केवल 'भुलभुलैया २' र 'कश्मीर फाइल्स' मात्र हिट भएको छ। रणवीरकै अघिल्लो फिल्म शमशेराले नमीठो फ्लप फिल्मको ट्याग भिरेको थियो।

त्यसमाथि ब्रह्मास्त्र थ्रीडीमा समेत हेर्न पाइने भएकाले दर्शकको रोजाइ त्यता ढल्कने देखिएको छ। अनि ठूला मल्टिप्लेक्स र सिनेमा हल चेनले अधिकांश शो पनि ब्रह्मास्त्रकै लागि छुट्याएका छन्।

यता यी फिल्मसँगै सिनेमा हलमा दोस्रो हप्तामा प्रवेश गरेको छ फिल्म 'झिँगेदाउ'। 'वर्ड अफ माउथ'को भरमा यो फिल्मले गज्जबको व्यापार गरिरहेको छ। झिँगेदाउ पनि आज रिलिज भएका २ नेपाली फिल्मलाई चुनौती बन्ने देखिएको छ।

अर्कोतर्फ हलमा आजैबाट दक्षिण भारतीय फिल्म सीतारमम पनि चलेको छ। यो फिल्मले निकै उत्कृष्ट समीक्षा पाएको छ। प्रेमकथामा आधारित यो फिल्ममा पनि दर्शक जानसक्ने सम्भावना उत्तिकै रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×