चितवन - मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो।
यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो। पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ। यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ।
गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन। पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन्।