रबात। कप्तान रियाद महारेजलाई विश्राम दिए पनि अल्जेरियाले अफ्रिका कप अफ नेसन्स (एफकन) मा आफ्नो उत्कृष्ट लय कायम राखेको छ। बिहीबार रबातमा भएको समूह चरणको अन्तिम खेलमा अल्जेरियाले इक्वेटोरियल गिनीलाई ३–१ गोलले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।
यस जितसँगै अल्जेरिया समूह चरणका तीनै खेल जित्ने नाइजेरियापछिको दोस्रो टोली बनेको छ। प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले अघिल्लो खेलको तुलनामा टोलीमा नौ परिवर्तन गरे पनि अल्जेरियाको दबदबा खेलभरि देखिन्थ्यो।
महारेजको स्थानमा दायाँ विङबाट खेलेका अनिस हाज मुसाले आक्रामक खेल प्रस्तुत गर्दै विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे। मुसाकै कर्नर प्रहारमा जिनेदिन बेलेदले हेडमार्फत गोल गर्दै अल्जेरियालाई अग्रता दिलाए।
त्यसपछि फारेस चैबीले दोस्रो गोल थप्दा मुसाकै क्रसमा इब्राहिम माजाले तेस्रो गोल गर्दै अल्जेरियालाई ३–० को सुरक्षित अग्रता दिलाए।
समूह ‘ई’ का सुरुवाती दुई खेल हारेको इक्वेटोरियल गिनीले दोस्रो हाफमा केही सुधार देखाए पनि ५०औँ मिनेटमा कप्तान एमिलियो न्सुएले गरेको लामो दूरीको गोल सान्त्वनामा मात्र सीमित रह्यो।
अब अल्जेरियाले जनवरी ६ मा अन्तिम १६ अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग सोही रंगशालामा प्रतिस्पर्धा गर्नेछ।