काठमाडौँ - अभिनेता दीलिप रायमाझीको नृत्यको चर्चा कुनै समय निकै हुन्थ्यो। ५० को दशकमा उनको नृत्यलाई नरुचाउने नेपाली फिल्म प्रेमी कमै थिए। डान्सर हुँदै फिल्मको अभिनेता बनेका दीलिपले आफूलाई नृत्यसँगै अभिनयमा पनि बलियो बनाए।
रोमान्टिक हिरो, डान्सिङ गीत भएपछि त्यो समयमा दीलिप सबैको रोजाइ बन्थे। एक दिनमै उनी ३-४ वटासम्म फिल्मको छायांकन गर्ने दीलिप हिजोआज फिल्मको अभिनय भन्दा पनि रियालिटी शोका कारण चर्चामा छन्।
उनलाई ‘डान्सिङ शो’ मा जज बन्ने अफर धेरै आउँछ। अहिलेको पुस्ताले भन्दा पनि अघिल्लो पुस्ता उनको डान्सलाई रुचाउनेमा पर्छन्।
‘पहिले गरेको कामले नै अहिले अरुको क्षमतालाई निर्णय गर्न सक्ने निर्णायक बनाएको छ। दशक अगाडि गरेको मेहनतको ब्याज अहिले पाइरहेको छु जस्तो लाग्छ’ दीलिपले भने। जजको कुर्सीमा बस्दा पनि सानोतिनो अभिनय गर्नु पर्ने बताउँदै उनले यसलाई आफ्नो सौभाग्य ठानेका छन्। ‘कुनै समय मैले गरेको मेहनत, देखाएको क्षमताले अहिले यो स्थान र काम पाएको छु।
म सकेसम्म कसैलाई अन्याय नगरु भन्ने लाग्छ। किनकी मेहनतको फल नपाउँदा भोग्ने पीडालाई मैले स्ट्रगलको दिनमा नजिकबाट नियालेको छु’ दीलिपले भने।