काठमाडौँ - पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल यूएईसँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ८४ रनले पराजित भएको हो। यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा १७९ रन मात्रै बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउँदले अर्धशतक प्रहार गरेका थिए। ऐरीले ८४ बलमो ५४ रन र साउँदले ७९ बलमा ५१ रन बनाएका थिए। त्यस्तै, गुल्सन झाले १९ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यूएईका लागि आयान अफ्जल खानले ४ र बसिल हमीदले २ तथा जहूर खान, रोहन मुस्ताफा र अहम्द राजाले १/१ विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ७ विकेटको क्षतिमा २६३ रन बनाएको थियो। यूएईका लागि रोहन मुस्ताफाले ५३, मुहम्मद वासीमले ४४, वृत्य अरविन्दले ४०, अलिशान सरफुले २९, अहम्द राजाले २७ र आयन अफ्जल खानले २६ रन बनाएका थिए।
त्यस्तै, नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिएका थिए।
अब नेपाल र यूएईबीचको दोस्रो खेल बुधबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।