काठमाडौँ। शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरे। उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने खालको रहेको छ।
समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको छ। त्यसैले समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले उक्त भिडियो सामग्री प्राप्त गरेको हो। उक्त श्रव्यदृश्य सामग्री प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।