काठमाडौँ - राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन्।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाए। उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए। उनले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताए।
देवले भने, ‘नेपालको डाटाले के भनिरहेको छ भने कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश यो एचडिआइको हिसावले पछि परेको प्रदेश हो। त्यहाँ जस्तो बजेट हामीले विनियोजन गरेका छौँ। त्यो ठिक गरेका छौँ त ? सरकारको एउटा इकोनोमिक इन्स्क्लुसिभप्रतिको दृष्टिकोण के हो सरकारको ? त्यो हिसावले हेर्ने हो भने यो तीन प्रदेशमा जति बजेट जानुपर्ने हो, जति थियो, त्यसबाट अलिकति बढी जानुपर्ने हिसावले नेपाल सरकारले अर्थ मन्त्रालयले त्यतातिर सोच्न सकेन की भन्ने मलाई लाग्यो। मन्त्रीज्युले आफैँ एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो। त्यो रकममा धेरै ठूलो चुहावट छ। त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो। सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो। पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसावले ८ अर्ब २५ करोडको रकम छ। यो दोष प्रणालीको दोष हो।’
सांसद देवले पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरुको दोष नभइ प्रणालीको दोष भएको बताए।