काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना आज बिहीवार हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहान ८ बजेदेखि महामन्त्री पदको मतगणना गरिने छ ।
२ महामन्त्री पदका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । महामन्त्रीका लागि गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कांग्रेस विधानमा कूल १६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने व्यवस्था छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले पदाधिकारीको परिणाम शुक्रवारभित्र आइसक्ने तथा केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तीमा १ हप्ता लाग्ने बताए ।
‘सबै पदाधिकारीको परिणाम शुक्रवारसम्म आउने गरी गणना भइरहेको छ, केन्द्रीय सदस्यको सबै परिणाम आउन कम्तीमा एक साता लाग्ला,’ निर्वाचन समितिका सदस्य रावलले भने ।
१ जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य भने विधानमा भएको व्यवस्थाको सदुपयोग गर्दै निर्वाचित सभापतिले पछि मनोनित गर्नेछन् । यसैबीच, नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी बनेका छन् । कांग्रेस केन्द्रीय समिति विधानअनुसार २ जना निर्वाचित उपसभापति रहने व्यवस्था छ ।
यसअघि सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । देउवा डा. कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भएकाे समाचार राजधानी दैनिकमा प्रकाशित छ ।