काठमाडौँ - कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका ३ खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो।
जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो।
जारी विश्वकपमा नकआउट चरणमा पहिलो पटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट तय भएको छ। प्रतियोगितामा अन्तिम १६ अन्तर्गत जापान र क्रोएसियाबिचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।
खेलको निर्धारित तथा अतिरिक्त समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर खेलमा एसियन टोलि जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध पहिलो हाफमानै अग्रता बनाएको थियो। जापानका लागि डाइजेन माइडाले ४३ औ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उनले रित्सु डोएनको क्रसलाई ६ यार्ड बक्स भित्र फाइनल टच दिएका थिए।
तर खेलको दोस्रो हाफमा गत संस्करणको फाइनलिस्ट क्रोएसिया खेलमा फर्कियो। उसका लागि इभान पारासिसले ५५ औ मिनेटमा गोल गरेका थिए। उनले लोभरेनको लामो पासलाई सानदार हेड गर्दै गोल गरेका थिए।
क्रोएसियाले खेलेका पछिल्ला ७ नकआउट खेल मध्ये ६ खेल अतिरिक्त समयमा धकेलिएका छन्। गत संस्करणको फाइनलमा मात्र क्रोएसिया फ्रान्ससँग निर्धारित समयमा पराजित भएको थियो।