गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न कूटनीतिक पहल आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन कूटनीतिक पहलबाट मात्रै सम्भव हुने बताए। संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै ठोस निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन संघीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराए। विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन सक्ने भन्दै उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्नेमा जोड दिए। आवश्यक परे श्रम स्वीकृति दिने कार्यालय स्थापना, स्वास्थ्य जाँचको जिम्मेवारी प्रदेश सरकारले लिन तयार रहेको प्रस्ताव गरिएको भए पनि संघीय सरकारले अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उनले बताए। साथै, अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरू भैरहवा ल्याउने, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने र गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्‍याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याए।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×