काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ।
गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताएकन छन्। जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।
बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ। होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ।
लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ। मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ।
उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ। पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छिन्। त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छिन्।
नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन्। त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ।
‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ। ‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने।
यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। ख्यातिको आडमा बलात्कार भएको उस्तै प्रकृतिको घटनामा मंगलबार मात्रै अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको छ।
पीडितले बयान फेरेपछि उनलाई जबरजस्ती करणीमा अदालतले सफाइ दिएको छ भने बालयौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको हो।