काठमाडौँ - कीर्तिमानी स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेडले धोका दिएको दाबी गरेका छन्।
क्लबमा आफ्नो प्रशिक्षक एरिक हान टागले समेत सम्मान नगर्ने गरेको उनको भनाइ छ। क्लब व्यवस्थापनले निकाल्न खोजेको हो भन्नेबारे टकटिभीले गरेको प्रश्नमा रोनाल्डोले भनेका छन्, ‘हो, तर प्रशिक्षक हागले मात्र होइन। अन्य दुई/तीनजनाले पनि मलाई निकाल्न खोजिरहेका छन्। मलाई धोका दिएको महसुस भइरहेको छ। यो सिजनमात्र होइन गत सिजन नै मलाई निकाल्न खोजिएको थियो।’
रोनाल्डो पछिल्लो समय म्यान युनाइटेडको पहिलो रोजाइमा पर्न छाडेपछि आक्रोशित देखिन्छन्। आफूले म्यान युनाइटेड व्यवस्थापनलाई सक्दो सबै प्रयास गर्छु भनेको उनले बताएका छन्।
रोनाल्डोले हागले आफ्नो सम्मान नगर्ने भएकाले आफूले पनि उनको सम्मान नगर्ने बताएका छन्। ‘उनीप्रति मेरो सम्मान छैन किनभने मप्रति सम्मान रहेको उनी देखाउँदैनन्। यदी कसैले मेरो सम्मान गर्दैन भने उसलाई म कहिल्यै पनि सम्मान गर्ने छैन’, उनले भनेका छन्।
रोनाल्डोको कप्तानीमा पोर्चुगल आगामी साता विश्वकप खेल्दैछ।