धनगढी -पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब विजयी शुरुआत गरेको छ। बिहीबारदेखि धनगढी रंगशालामा शुरु खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद् शुरुआत गरेको हो। जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे। दिल्लीका लागि कृष्णले एक गोल फर्काए। मनाङले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। खेलको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ८२ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि ८५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए।