काठमाडौँ - आयरल्याण्डको डब्लिनमा खेलिएकको दुबै खेलमा भारतले आयरल्याण्डलाई उसकै होम ग्राउण्डमा पराजित गर्दै टी-२० सीरीजमा २-० ले क्लिन स्वीप गरेको छ। मंगलबार राति खेलिएको दोस्रो खेलमा भारतले आयरल्याण्डलाई चार रनले पराजित गरेको हो।
खेलमा भारतका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि भारतका दीपक हुड्डाले ५५ बलमा शतक बनाए। उनले ५७ बलमा १ सय ४ रनको इनिङ खेले, जसमा ६ छक्का तथा ९ चौका समावेश भए।
दीपकबाहेक सञ्ज सामसनले ४२ बलमा ७७ रनको इनिङ खेले। उनले पनि ४ छक्का तथा ९ चौका प्रहार गरेका थिए। दीपक र सञ्जुको १७६ रनको साझेदारी टी-२० अन्तर्राष्ट्रियमा भारतीय ब्याटरले गरेको उच्च साझेदारी हो। यसअघि २०१७ मा श्रीलंकाविरुद्ध पहिलो विकेटका लागि रोहित शर्मा र केएल राहुलले १६५ रनको साझेदारी गरेका थिए। यी दुईको उत्कृष्ट ब्याटिङले भारतले ७ विकेट गुमाएर २ सय २५ रन बनायो।
२ सय २६ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्डको टीमले पनि कडा टक्कर दियो। प्रारम्भदेखि नै आयरल्याण्डको टीम हावी हुँदै अन्त्यमा ५ विकेट गुमाएर २ सय २१ रन बनाउनु सफल भयो।
आयरल्याण्डलाई अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो। यो ओभरमा आयरल्याण्डले १२ रन मात्र जोड्न सक्यो। आयरल्याण्डका लागि कप्तान एन्ड्रयू बलबर्नीले ३७ बलमा ६० रनको इनिङ खेलेका थिए।आयरल्याण्डका लागि मार्क आदिरले ३ तथा जोस लिटिल र क्रेग योङ्गले २/२ विकेट लिएका थिए।