काठमाडौँ - २२औँ विश्वकप फुटबल प्रतियोगितामा मंगलबार बिहान ब्राजिलले दक्षिण कोरियालाई प्रिक्वार्टरफाइनलमा ४-१ ले हराएको छ। जितसँगै ५ पटकको विजेता ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अब ब्राजिलले क्रोएसियासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। ब्राजिलको जितमा नेयमारले पनि १ गोल गरेका थिए। उनले पहिलो हाफमै पेनाल्टी गोल गरेका हुन्। दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलले थुपै्र रेकर्ड राख्न सफल भयो।
सन् १९५४ पछि ब्राजिलले विश्वकप इतिहासमा पहिलो हाफमै ४ गोलको अग्रता लियो। सन् २०१४ को विश्वकपछि नकआउट चरणमा मध्यान्तरअघि नै ४ गोल गर्ने ब्राजिल पहिलो टोली बन्यो। दक्षिण कोरियाविरुद्ध गोल गरेका स्ट्राइकर नेयमारले पनि आफ्नो नाममा रेकर्ड बनाएका छन्। नेमार ३ वटा विश्वकपमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी बने। नेमारअघि ब्राजिलका लागि पेले र रोनाल्डोले ३ वटा विश्वकप संस्करणमा गोल गरेका थिए।
नेयमारले सन् २०१४, २०१८ र २०२२ मा गोल गरेका छन्। सन् २०१४ को विश्वकपमा नेमारले डेब्यु गरेका थिए। ब्राजिलमै आयोजना भएको विश्वकपमा नेयमारले टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए। विश्वकप ट्रफी ३ पटक उचालेको कीर्तिमान बनाएका पेलेले चार संस्करणमा गोल गरेका थिए।
उनले सन् १९५८, १९६२, १९६६ र १९७० को विश्वकपमा गोल गरेका थिए। विश्वकपकै दोस्रो सर्वाधिक गोलकर्ता रोनाल्डोले सन् १९९८, २००२ र २००६ को विश्वकपमा गोल गरेका थिए। सन् १९९४ को विश्वकपमा रोनाल्डो ब्राजिलियन टोलीमा थिए। तर, उनले विश्वकपमा १ खेल पनि खेल्न पाएनन्।
दक्षिण कोरियाविरुद्ध नेयमारले व्यक्तिगत ७६औँ अन्तर्राष्ट्रिय गोल गरेका हुन्। नेमारले अब थप १ गोल गर्दा विश्वकपकै महान् खेलाडी पेलेको कीर्तिमान बराबरी गर्नेछन्। पेले राष्ट्रिय टोलीबाट सर्वाधिक ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। विश्वकपमा सर्बियाविरुद्धको खेलमा नेयमार चोटग्रस्त बनेका थिए।