सामुदायिक रेडियो मदन पोखराले मनायाे रजत महोत्सव

सामुदायिक रेडियो मदन पोखरा पाल्पाले रजत महोत्सव मनाएको छ । रेडियोले विविध कार्यक्रम गरेर स्थापनाको २५ औँ वार्षिकोत्सव मनाएको हो ।

महोत्सवमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमहरूको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए । उनले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरूको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर र प्रतिबद्ध हुन आवश्यक रहेको बताए ।

‘पछिल्लो सकारात्मक भन्दा नकारात्मक टिप्पणीको बढी चर्चा हुने गरेको छ । स्थानीय सञ्चारमाध्यमले समाजमा आशा र उत्साह थप्ने विषयवस्तु उठान गर्नुपर्छ’, मन्त्री शर्माले भने, ‘सञ्चार माध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको छ । सञ्चारमाध्यमले स्थानीय विषयवस्तुमा केन्द्रित भएर सामाजिक विकास र रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पुर्खाको अमूल्य सम्पत्तिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताए ।  यस्तै पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले सामाजिक विभेद र भ्रष्ट्राचार विरुद्ध मदन पोखरा रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।  

उनले अफ्ठेरो परिस्थितिमा समेत जनताको पक्षमा उभिँदै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, दलित, जनजाति र अल्पसङ्ख्यकहरूको उन्नयनमा रेडियोले महत्त्वपूर्ण सूचना प्रवाह गरेको बताए । 

यसै गरी पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले आवाज विहीन समुदायको आवाजलाई मुख्य प्राथमिकता दिएर अगाडि बढेको रेडियोलाई प्रगतिको शुभकामना दिए । उनले जनताको सहभागितामा प्राप्त उपलब्धिलाई संस्थागत गर्न र समाजमा जागरण ल्याउन रेडियो कोषे ढुङ्गा साबित भएको उल्लेख गरे ।

समारोहमा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सामुदायिक रेडियोले जनताको आफ्नै भाषा र शैलीमा सूचना प्रवाह गर्दा प्रभावकारी भएको बताए । लुम्बिनीका प्रदेश सभा सदस्य खेमबहादुर सारुले जनतालाई सूचनाको मालिक बनाउने काम यो रेडियोले गरेको बताए । उनले पहुँच बाहिर रहेका नागरिकलाई समयानाकुल सूचना दिनका आग्रह गरे ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गाउँले परिवेशका मौलिक कार्यक्रम उत्पादन र प्रशासरणले जनताको मन छोएको बताए । उनले पर्यटन र संस्कृतिलार्य जोडेर समय अनुसार कार्यक्रम उत्पादन गर्नका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सहि र तथ्य परक सूचनाले जनतामा उत्साह थपेको बताए । उनले प्रविधिको विकाससँगै रेडियोको उत्पादन र प्रशारणलाई व्यवस्थित गर्दै अगाडि बढ्न सुझाव दिँदै स्थानीय प्रशासनबाट आवश्यक सहयोग उपलब्ध गराउने बाचा गरे ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताका खास विषय रेडियोले प्रशारण गर्ने गरेको बताए । उनले नयाँ प्रविधिको विकासलाई आत्मसाथ गर्नुपर्नेमा सम्त जोड दिए । रजत महोत्सवका अवसरमा रेडियोले संस्थापक, सञ्चालक समिति, कर्मचारी, सहयोगहरुलाई सम्मान गरेको थियो भने अक्षयकोष पुरस्कार समेत वितरण गरेको थियो ।

कार्यक्रममा बोली पत्रिका र २०८१ सालको भित्ते पात्रो सार्वजनिक गरिएको थियो । रेडियोका सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रवन्धक सोमनाथ अर्यालको स्वागत र सचिव राजेश कुमार अर्यालले सञ्चालन गरेका थिए ।

रजत महोत्सवको अवसरमा रेडियोले पत्रकार सम्मेलन, निबन्ध प्रतियोगिता, अपांग भएका विद्यार्थीहरूलाई भोजन, पुनर्मिलन कार्यक्रम गरेको प्रबन्ध निर्देशक गुणाकर अर्यालले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×