काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पिएसजीलाई ३–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो। पहिलो लेगमा पिएसजी १–० ले विजयी भएको थियो।
रियल मड्रिडका लागि क्वाटर फाइनलको यात्रा तय गराउन करिम बेन्जिमा नायक बने। उनले दोस्रो लेगमा ह्याट्रिक गरेर टिमलाई अघि बढाएका हुन्। बेन्जिमाले ६१, ७६ र ७८ औँ मिनेटमा गोल गरेका हुन्। पिएसजीका लागि ३९ औँ मिनेटमा केलिएन एमबाप्पेले गोल गरेका थिए।