काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए। “अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय गर्यौँ, स्थिति सहज भएपछि नयाँ मितिमा आयोजना हुन्छ”, उनले भने। परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर समाज र त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको थियो।
त्यहाँ रहेको गुरुकुल पाठशाला विगतको सशस्त्र द्वन्द्वका बेला बन्द हुन पुगेको थियो। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा खुलेको संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि आर्थिक जोहो गर्न महोत्सव हुन लागेको थियो।