काठमाडौँ - इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ। इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ।
सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए। ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ। इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्टसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ।
सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। यस्ता हिंसात्मक हमलाहरु तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ।