धनगढी - गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट सकिएको छ। भदौ ३१ देखि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न खेलको छनोट प्रतियोगिता गरिएको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, भारोत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खोखो, बुद्धिचाल, कुस्तीलगायतका खेलमा खेलाडी छनोट भएका छन्। नवौं राष्ट्रिय खेलकुदमा हुने ३६ खेलमध्ये सुदूरपश्चिमले ३३ खेलमा सहभागिता जनाएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता उपलब्ध गराएको थियो। प्रदेशस्तरीय छनोट प्रतियोगितामा झन्डै ३ हजार खेलाडीले सहभागिता जनाएका थिए। त्यसमध्ये नवौं राष्टिय खेलकुदका लागि सुदूरपश्चिमबाट झन्डै ७ सय खेलाडी छनोट भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ।