काठमाडौँ - फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए। समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्नुपर्ने सुझाव दिएकाे छ।
कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी गैरव्यावसायिक भएको र खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गर्न खोजेको औंल्याइएको छ। केही साताअघि प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए। त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए।
समितिले एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका १० जना खेलाडीलाई माफी मगाएरमात्र राष्ट्रिय टोलीमा स्थान दिन पनि सुझाव दिइएको छ।
अल्मुताइरीले नै आफूहरुलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुले दावी गरेका छन्। बन्द शिविर छाडेका खेलाडीहरुलाई टिम बाहिर राखेर अहिले राष्ट्रिय टिमको तयारी भइरहेको छ।