काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आर्मीले सुदूरपश्चिमलाई १६९ रनले पराजित गरेको हो।
२८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमै अलआउट भयो। उसको लागि बसन्त खत्रीले २५ र गजेन्द्र भण्डारीले १७ रन बनाएका थिए। आर्मीका लागि जितेन्द्र मुखियाले ३ र विक्रम सोबले २ विकेट लिएका थिए।
टस जितेर ब्याटिङ रोजेको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। उसको लागि अर्जुन साउदले ७३ र रोहित पौडेलले ५२ रन बनाएका थिए। अर्जुनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। रोहितले ५१ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक बनाएका थिए। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोरा र हेमन्त धामीले २/२ विकेट लिएका थिए।