काठमाडौँ- नेपालले फिलिपिन्सलाई २१९ रनको फराकिलो लक्ष्य दिएको छ। आईसीसी ट्वेन्टी–२० क्रिकेट ग्लोबल क्वालिफायर छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो।
फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा ओर्लेको थियो। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा १०४ तथा दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाए।
विश्वकप क्वालिफायर ए अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो। शुक्रबार नै फिलिपिन्स क्यानडासँग ११८ रनले पराजित भएको थियो।
ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा राखेर प्रतियोगिता भइरहेको छ। समूह ‘ए’ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्।