हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन्।
प्रेस चौतारी मकवानपुरको आयोजनामा बिहीवार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलीय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमै केन्द्रित भइरहेको आरोप लगाए ।
बस्नेतले सरकारका मन्त्रीहरुलाई आफ्नो मन्त्रालयमा के भइरहेको कुनै चासो नभएको आरोप लगाए। मकवानपुरबाट स्वास्थ्य मन्त्री बनेका विरोध खतिवडालाई इङ्गित गर्दै बस्नेतले अघिल्लो सरकारले ल्याएको २४ लाख खोप हराएको विषयमा थाहा नभएको जस्तो अभिव्यक्ति दिनेले जनतालाई कसरी स्वास्थसेवा दिन्छ भन्दै प्रश्न गरे ।
नेता बस्नेतले नेकपा एमाले वर्तमान सत्तारुढ पाँच दलीय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताए। ‘हामी एक्लै चुनाव लड्न तयार छौं । पाँच दल एउटै दलमा परिणत भए हुन्छ । देशले स्थिरता पनि पाउँछ ।’, उनले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् ।
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले वर्तमान सरकारविरुद्ध चरणवद्धरुपमा आन्दोलन गर्ने बताएका छन् ।
अध्यक्ष पौडेलले सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको बताए । ‘अहिले सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने र गठबन्धनको नाममा ब्रम्हलुट मच्चाउने तयारी भइरहेको छ । त्यसकारण हामी सरकार विरुद्धको आन्दोलनमा रहेको बताउनुभयो । उनले केही दिनभित्रमा युवा संघले सरकार विरुद्धको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताए ।
संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई पदबाट मुक्त नगरेसम्म मधेश प्रदेशमा जारी युवा संघको आन्दोलन नरोकिने उनको भनाइ छ । पौडेलले वर्तमान सरकारलाई संविधान अनुसार स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने वातावरण तयार पार्न समेत आग्रह गरेका छन् ।