काठमाडौँ - भरतपर महानगरपालिकालाई उज्यालो शहर बनाउने अभियान शुरू भएको छ।
महानगर प्रमुख रेनु दाहालका अनुसार बत्ती जडानका लागि प्रमुख सडकको सर्वे गरी प्राधिकरणमा पठाइसकिएको छ, उनले भनिन्, “अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो।” अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताएकी छन्। यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी रहेको छ।
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलब १३ किमीम ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८ सडक बत्ती जडान हुनेछ। यसैगरी, दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ। अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उनको भनाइ छ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु गरिएको जानकारी दिएका छन्। हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन्।