काठमाडौँ - दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलको उपाधिका लागि सुनिरा थापा र अभिलाषा विष्ट भिड्ने भएका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार सेमिफाइनलमा अभिलाषाले इशा डोल्कर गुरुङलाई ६-३, ६-३ ले र सुनिराले सर्भांनी श्रेष्ठलाई ६-४, ६-३ ले हराएका हुन्।
पुरुष एकलतर्फको फाइनलमा प्रदीप खड्का र ऋतिक रानाले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६-१, ६-२ ले र ऋतिकले प्रणव खनाललाई २-६, ६-४, ६-३ ले पराजित गरे।
पुरुष ३५ वर्षमाथि एकलतर्फ कमलबहादुर भण्डारी च्याम्पियन भएका छन्। उनले फाइनलमा जितेन्द्र परियारलाई ६-२, ०-६, १०-७ ले पराजित गर्दै ४० हजार रुपैयाँ पुरस्कार जिते -। जितेन्द्रले २० हजार पाएका छन्।
पुरुष ४५ वर्षमाथि एकलको उपाधि महेश श्रेष्ठले जितेका छन्। उनले विमल गुरुङलाई ६-४, ६-१ ले हराएर ३० हजार पुरस्कार जिते। विमलले १५ हजार पाएका छन्। विमलले ५५ वर्षमाथि एकलको उपाधि भने जिते। उनले फाइनलमा उत्तमकुमार लामालाई ६-३, ६-४ ले हराए। विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाएका छन्।
६५ वर्षमाथि एकलको उपाधि विदुर विष्टले जिते। उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारलाई ४-२, ३-५, ७-५ ले पराजित गर्दै १५ हजार रुपैयाँ जितेका छन्।