काठमाडौँ -
‘भटटट भटटट भट्भटे आयो बाटो छोड् छोड् छोड्’
लोकरक ब्याण्ड नेपथ्य आफ्ना गीतमा समाज र परिवेशलाई समेट्न जहिल्यै तयार हुन्छ। उल्लिखित शब्द नेपथ्यको नयाँ गीत ‘भट्भटे’का हुन्।
मोटरसाइकल यात्रामा आधारित यो गीत शुक्रबार सार्वजनिक भएको हो। यस परिवेशमा अन्य मुलुकमा थुप्रै गीत रहेको भए पनि नेपालमा भने रोड ट्रिपमा आधारित गीत पहिलो पटक ल्याएको नेपथ्यले जनाएको छ।
‘धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ। अर्थात्, अब ३ दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ,’ नेपथ्यले भनेको छ। एघारौं एल्बममा १० गीत समेटिनेछन्।
नेपथ्यका गायक अर्मत गुरुङले आफू पनि कुनै समयमा मोटरसाइकल धेरै कुदाउने गरेको र सोही अनुभवलाई गीतमा उतारेको बताएका छन्। गीतको भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौँ सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ। भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लस्कर पनि भिडियोमा प्रस्तुत गरिएको छ।
७ मिनेट १५ सेकेण्ड लामो गीतको भिडियोको छायांकन र सम्पादन मोहन पुनमगरले गरेका हुन्।