भारतीय सेनाध्यक्षलाई शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गरिने

काठमाडौँ - नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन्। भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन्। 

सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ। राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले जानकारी दिए। 

उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन्। जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ। मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ। भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन्। 

भारतीय सेना प्रमुख पाण्डेले ५ दिनको भ्रमण अवधिमा पोखरा र मुक्तिनाथको भ्रमण गर्नेछन्। पोखरा स्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण पछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक प्रवक्ता सिलवालले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×