काठमाडौँ । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ। हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ।
हुम्लाको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ। ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ।
लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए। “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ।” उनले भने, “हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ। हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन।”
गत मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ। जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।