काठमाडौँ - जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा श्रीलंकाले अस्ट्रेलियालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। जारी सिरिजमा अस्ट्रेलियामाथि श्रीलंकाको लगातार दोस्रो जित हो। अघिल्लो खेलमा श्रीलंका २६ रनले विजयी भएको थियो।
श्रीलंका लागि पथुम निशंका र कुशल मेन्डिसले उत्कृष्ट पारी खेले। १४७ बलको सामना गरेका निशंकाले ११ चौका र २ छक्काको सहयोगमा १३७ रन बनाएका थिए। एकदिवसीयमा उनको यो पहिलो शतक हो।
त्यस्तै, मेन्डिस ८७ रनमा रिटायर्ट हर्ट भए। त्यसक्रममा उनले ८५ बलको सामना गर्दै ८ चौका हिर्काए। निरोशन डिकवेला, धनन्जय डिसिल्भा २५-२५ रनमा आउट भए। चरिथा अशलंका १३ रनमा अविजित रहेका थिए।
अस्ट्रेलियाका लागि झय रिचडर्सनले २, ग्लेन म्याक्सवेल र जोस हेजलउडले १/१ विकेट लिए। त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९१ रन बनाएको थियो।
उसका लागि ट्रभिस हेडले ६५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ७० रन बनाए। कप्तान आरोन फिन्चले ८५ बलमा ४ चौका र १ छक्कासहित ६३ रन जोडेका थिए। त्यस्तै, एलेक्स क्यारीले ५२ बलमा
३ चौका र १ छक्काको सहयोगमा ४९ रनको पारी खेलेका थिए।
ग्लेन म्याक्सवेल ३३, मार्नस लाबुसेन २९, मिचेल मार्श १० र डेविड वार्नर ९ रनमा आउट भएका थिए। क्यामरोन ग्रीन १५ रनमा अविजित रहे। श्रीलंकाका लागि जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन दिएर सर्वाधिक ३ विकेट लिए।
त्यस्तै, धनन्जय डिसिल्भा, दुशमन्था चामेरा र दुसनथ वेललेगले १/१ विकेट हात पारे। यो जितसँगै पाँच खेलको सिरिजमा श्रीलंकाले २-१ को अग्रता लिएको छ। श्रीलंका र अस्ट्रेलियाबीचको चौथो एकदिवसीय मंगलबार हुनेछ।