काठमाडौँ - टम क्रुज स्टारर ‘टपगन: माभेरिक’ यस वर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ। साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ।
यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाइ गरेको हो। उत्तर अमेरिकी बक्स अफिसमा ५२१.७ मिलियन डलर र विदेशी बजारमा ४८४.७ मिलियन डलरसहित कुल १.००६ बिलियन डलर कमाइ गरेको भेराइटी म्यागजिनले जनाएको छ।
३६ वर्षपछि निर्माण भएको यो फिल्मले क्रुजको कारण मात्र होइन, विगत कमाएको राम्रो समीक्षाको कारण पनि चर्चा बटुलेको थियो। प्यारामाउन्ट स्टुडियोको बृहत वितरण र बजारीकरणलाई पनि पछि छाड्दै स्वयं अभिनेता क्रुजकै कारण फिल्मले चर्चा पायो।
पहिलोपटक कान्स फिल्म फेस्टिभलमा रिलिज भएको फिल्मको प्रिमियरमा भाग लिन अभिनेता क्रुुज फ्रान्ससहित सान डिआगो, मेक्सिको सिटी, जापान, लन्डन र सिओलमा पुगेका थिए। पछिल्लो सप्ताहन्तसम्म टपगन माभेरिक जापानमा पाँचौ सातामा पनि शीर्ष स्थानमा रहेको छ।