काठमाडौँ। नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु २’ प्रदर्शनको तयारीमा रहेको छ। हालै बिभिन्न सञ्चारकर्मी तथा मनोरंजनकर्मीबिच चलचित्रको प्रिमियर कार्यक्रम समेत राखिएको थियो। जहाँ अभिनेत्री तथा चलचित्रकी निर्माता पूजा शर्माले आँशु थाम्न सकिनन्। बुधबार साँझ राखिएको सो कार्यक्रममा अभिनेता पल शाह उपस्थित नभएपछी उनको आँखाबाट आँशु बर्सिएको हो।
उनले आफ्नो चलचित्रप्रति कसैको आँखा लागेको बताउदै चलचित्र राम्रो बनेकाले दर्शकहरुबाट साथको अपेक्षा रहेको समेत बताईन्। अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी उक्त कार्यक्रममा सहभागी हुन आएनन्। कीर्तिपुरको पाँगामा भर्खरै खुलेको ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयाेजना भएको कार्यक्रम पलकै कारण दुई घण्टा जति ढिलो सुरु भएको थियो।
पुजाले आफ्नो दु:ख पोख्दै भनिन् " बुढापाकाले भनेको कुरा सही नै हो भन्ने मलाई महसुस भयो। जोडी मनकामना जानु हुन्न भनेर सुनिन्थ्यो, हुन त हामी लभ जोडी त होइनौँ तर पनि पर्दामा देख्दा हामीलाई लभ जोडी भनेर चिनिने गरिन्थ्यो। हाम्रो टिमलाई एउटा बज्रपातले नै टाउकोमा घेरेजस्तो महसुस भइरहेको छ। तर पनि केही छैन्। जिन्दगीमा दुःखपछि नै सुख आउँछ भनेर भनिन्छ। मैले दर्शकको आश गरेको छु। राम्रो फिल्म बनाउन धेरै नै कोशिस गरेका छौँ। फिल्म बनाउँदा यस्तो हुन्छ कहिले सोचेनौँ।
राम्रो मनले नै फिल्म बनायौँ हामीले। बनाउँदाखेरी नै त्यही बेला पनि लकडाउन भइदियो हाम्रो हरेक सपनाहरु चकनाचुर भए। त्यही पनि ठीक छ नेपाली फिल्मको लागि हामी जहिल्यै पनि लड्ने छौँ। त्यसपछि खुल्यो, फेरि बन्द भयो। ठीक छ म सहन सक्छु, म सहने बानी नै परिसकें। त्यसपछि अब आज आएर फागुन १३ गते रिलिज हुँदै छ केही न केही उत्साह उमङ्ग छाइरहेको थियो, फेरि कसको नजर लाग्यो थाहा छैन तर पनि मिडियाबाट केही भन्न चाहन्छु।
अब थाहा छैन के हुन्छ भविष्यमा तर पनि एउटा राम्रो फिल्म बनाएको छौँ हामीले, साथ दिनुहोला, तपाईंहरुकै साथले हामी बाँच्यौँ। सायद यति गर्दा पनि केही न केही चिजले आँखा लगाएको हो भने म यो क्षेत्रबाट आउट नै हुनुपर्छजस्तो लाग्छ। किनभने मैले धेरै नै सङ्घर्ष गरिरहे जिन्दगीमा र जहिले पनि सङ्घर्ष गर्दागर्दै मिठाई खान्छु भन्दा ढुङ्गा परिरहेको हुन्छ मलाई। तर पनि मैले हिम्मत हारेको छुइन।"
कार्यक्रममा निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आश रहेको बताए । चलचित्र फागुन १३ गते (भोलि) महाशिवरात्रिको उपलक्ष्यमा प्रदर्शनमा आउँदैछ।