वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था

चितवन - चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०७९-८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो। माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच÷पाँच लाखको लागतमा सो व्यवस्था गरिएको हो।

वाल्मीकि क्षेत्रका सात ठाउँमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताए। उनका अनुसार महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ। यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो।

वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र  चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन्। यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्। नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताए। उनले वाल्मीकि आश्रम नेपालकै महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए। उनले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताए।

वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन। पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उनले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिए। चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन। आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताए। 

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ। त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनवास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ। यहाँ महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको संरक्षण हुन नसकेको उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×