बागलुङ - बागलुङको बडिगाड गाउँपालिका-१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ। त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ। दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयले दैनिकी गर्न भ्याउँदैनन्। खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे।
तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ। पानी सुक्दै गएपछि स्थानीयले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासो समेत गरेका छन्। तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेका थिए ।
विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो। पोखरेल अहिले ७५ वर्षका भए। उनी हिँडेर मुहानसम्म पुग्न सक्दैनन्। गाउँलेले अझै अर्को मुहान भेटेका छैनन्। पहिलाको जनसंख्या बढेर दोब्बर भइसक्यो। ‘एक घर, एक धारा’को अभियान पनि सुरु भयो तर पुरानो पानी घट्दै गएको छ। त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ।
तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गरिन्। पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ। उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ। दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ। रातिदेखि लाइन बस्छिन्।
कसैले पालो मिचेमा झगडासमेत हुन्छ। समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने रेशमबहादुर भुजेलले बताए। ‘पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ’ भुजेलले भने, ‘नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ।’ बारीमा तरकारी फलाउने, गाई भैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ। दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताए।
टुटीफेद, गहते, सिमलचौर लगायत बस्तीमा पनि पानीको सास्ती छ। पुरानो मुहान धेरै स्थानमा भत्केको छ। पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन। स्थानीयकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो। ‘केही ट्याङ्की त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्’ स्थानीयले भने, ‘पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौं, पानीकै समस्या भयो।’ सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए।
स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए। हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उनले बताए। ‘बिहानै गएका कामदार दिउँसो पुग्छन्, दुई घण्टा काम गरेर फर्कन हतार हुन्छ’ थापाले भने, ‘तारेभिरमा बस्न खानाको समस्या समेत छ।’
दुई महिनाअघि यहाँ निर्माणाधीन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जानसमेत डराउँछन्। तारेभिर वडा नंं ३ सिसाखानी र वडा नंं ४ जलजलाको सिमानामा पर्छ। पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहर छ। एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइ लगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गर्छन्।
कतिपय बालबालिका शौच गर्न समेत घर-घरमा जाने गरेका छन्। ‘पानी नभएर घरमै आएर शौचालय जान्छन्’ स्थानीय दुर्गा थापाले भने, ‘पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ।’ आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उनले गुनासो गरे।