काठमाडौं - रूपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सडकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.१ ख ८१९१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–२ बस्ने ४४ वर्षीया गंगा सुवेदीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–८ बनगाउँस्थित सडकमा नारायणपुरबाट बनगाउँतर्फ जाँदै गरेको रा.१ प ४५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–६ चोरगाउँ बस्ने २३ वर्षीय सुमन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङको राप्ती गाउँपालिका–५ सिङ्गेस्थित सडकमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा.९ च ७१९८ नम्बरको स्कार्पियोले रा.६ प ५७३८ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय सन्तराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२५ स्थित फुर्केटारी चोकमा ग.१६ प २९१ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ग.१६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखा पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बागमती प्रदेश ०२–०१६ ७०८४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१० खरकट्टा जंगलस्थित सडकमा रा.३ प १८७५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–२ बस्ने ३१ वर्षीय तिर्थराज देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।