विहे रोकेर आईपीएल खेल्न पुगेका थिए पाटिदर

काठमाडौँ - इडेन गार्डेन रंगशालामा बुधबार २८ वर्षीय रजत पाटिदरले ५४ बलमा ११२ रनको अविजित पारी खेलेर रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई आईपीएल इलिमिनेटरको ‘दुर्भाग्य’बाट जोगाएका थिए।आरसीबी यसअघि सन् २०२० र २०२१ मा इलिमिनेटरमा पराजित हुँदै आईपीएलबाट बाहिरिएको थियो।

आफ्नो यस अविष्मरणीय प्रदर्शनबाट उनले लामो दौडका लागि तयार भएको सन्देश दिएका छन्। रजन आईपीएलको इलिमिनेटरमा शतकीय पारी खेल्ने पहिलो अनक्याप्ड खेलाडी बने।

वास्तवमा यी ब्याटर इडेन गार्डेनको खेलका लागि आरसीबीको स्वभाविक रोजाईमा थिएनन्। बैंग्लोरबाटै पछिल्लो संस्करणको आईपीएल खेलेका उनी सन् २०२२ को मेघा अक्सनमा विकेका थिएनन्। उनलाई यो फ्रेन्चाइज टिमले रिटेन पनि गरेको थिएन।

फेब्रुअरीमा आईपीएलको मेघा अक्सनमा रजतलाई कुनै पनि टोलीले इच्छा नदेखाउँदा उनी निराश बनेका थिए। अघिल्लो संस्करणमा आरसीबीका लागि ४ खेलमा ७१ रन बनाएका उनलाई रिटेन गरिएन। आईपीएलमा विक्री नभएपछि उनले ९ मे मा आफ्नो विवाह निश्चित गरेका थिए।

उनको बुबा मनोहर पाटिदारका अनुसार एउटा सानो कार्यक्रममा परिवार र सीमित आफन्त सहभागी हुने विवाह समारोहका लागि इन्दोरमा एउटा होटल बुक गरिएको थियो। 

तर, आरसीबीका खेलाडी लवनिथ सिसोदिया चोटग्रस्त भएपछि प्रतियोगिता गुमाउन पुगे। उनको स्थानमा बैंग्लोरले ३ अप्रिलमा २० लाख न्यूनतम मूल्यमा रजतलाई टिममा बोलायो। आश्चर्यजनक रुपमा टिममा समावेश भएपछि रजतले आफ्नो विवाहको पूर्वनिर्धारित समय पर सार्ने निर्णय गरेका थिए।

उनी अब जुलाईमा मध्यप्रदेशको रतलाम जिल्लाकी युवतीसँग विवाह गर्दैछन्। मध्यप्रदेश रणजी टिमबाट खेल्ने रजतले ६ जुनदेखि पन्जावविरुद्ध रणजी नकआउट चरणका खेलहरु खेल्नेछन्। 

रजतले आरसीबीका लागि यो सिजन ७ खेलमा १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन्। 

११२ रनको अविजित पारी खेलेपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले खुसी व्यक्त गरेका थिए। आईपीएल इतिहासमै कुनै पनि खेलाडीले खेलेको सबैभन्दा उत्कृष्ट पारीमध्येको एक भएको कोहलीको टिप्पणी छ। ‘अहिलेसम्म उसले दवावमा खेलेको देखेको थिएँ। तर यसपल्ट शानदार खेले,’ कोहलीले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×