काठमाडौँ - आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध स्कटल्याण्ड १११ रनले विजयी भएको छ। अघिल्लो खेलमा १०४ रनले पराजित पाहुना टोली स्कटल्याण्डले दोस्रो म्याचमा फराकिलो जित निकालेको हो ।
गएराति पर्लल्याण्डस्थित च्वाइस मोसा स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा सात विकेट गुमाएर ३ सय रन बनाएको थियो। उसका लागि रिची बेरिङ्गटनले शतकीय तथा म्याथ्यू क्रस र जर्ज मुन्सेले अर्धशतकीय पारी खेलेका थिए।
१०७ रनमा अविजित रहेका बेरिङ्गटनले ९० बलको सामना गर्दै ६ छक्का र चार चौका प्रहार गरे। क्रसले ९३ बलमा तीन चौका र दुई छक्कासहित ७४ रन जोडे। ५१ रन बनाएका मुन्सेले ५७ बलमा सात चौका प्रहार गरे। अमेरिकाका लागि सौरभ नेत्रावाल्कर र क्यामरन स्टेभनसन २/२ तथा रुस्टे थेरन र निसर्ग पटेलले १/१ विकेट हात पारेका थिए। अमेरिकालाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भएको थियो।
३०१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली अमेरिका ४२.४ ओभरमा १८९ रनमा समेटियो। उसका लागि आरोन जोन्सले ३८, कप्तान मोनांक पटेलले ३६ र निसर्ग पटेलले अविजित ३४ रनको योगदान दिएका थिए।
स्कटल्याण्डका लागि क्रिस सोलेले तीन, सेफन सेरिफ, माइकल लेस्क र क्रिस ग्रिभ्सले २/२ विकेट हात पारेका थिए। स्कटल्याण्डले १/१ विकेट रन आउटको रूपमा प्राप्त गर्यो।
यो जितसँगै १८ खेलमा २६ अंक जोडेको स्कटल्याण्ड लिगको दोस्रो स्थानमा रहेको छ। पराजित अमेरिका समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा रहेको छ। अब स्कटल्याण्डले आज तथा अमेरिकाले बुधबार यूएईको सामना गर्नेछन्। विश्वकप लिग–२ मा नेपालले हालसम्म १२ म्याच खेलेको छ। भने ६ खेलमा मा जित र ६ खेलमा हार बेहोरेको छ।
छैटौं स्थानमा रहेको नेपालले यही प्रतियोगिताअन्तर्गत अमेरिकामा हुने सिरिजमा घरेलु टोलीसहित ओमानको सामना गर्नेछ। नेपालले पहिलो खेल ओमानसँग ९ जुनमा खेल्नेछ।