काठमाडौँ। 'काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव-किम्फ फेस्टिभल'को १९ औँ संस्करणको कार्यक्रम सकिएको छ। चार दिन चलेको कार्यक्रममा विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्डको चलचित्र गड्ज बफ्यालो’ अर्थात् ‘भगवानको भैँसी’ले सर्वोत्कृष्ट पर्वतीय फिल्मको अवार्ड हात पारेको छ। चलचित्रले पुरष्कार स्वरूप १ हजार अमेरिकी डलर र नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा समेत अवार्ड जितेर थप ७५ हजार रुपैयाँ पनि पाएको छ। मंसिर २३ गतेबाट सुरु भएको कार्यक्रममा विभिन्न २८ देशबाट प्राप्त ६० वटा फिल्महरु देखाइएको थियो। यो वर्षको किम्फमा नेपाल पानोरमा विधामा किरण श्रेष्ठको ‘येट एनोदर विन्टर’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘द बिग हेडेड ब्वाई’, स्यामन्स एण्ड समुरिज’ले अवार्ड हात पारेका छन्। त्यसैगरि अन्तर्राष्ट्रिय फिल्म अन्तर्गतबाट पाभ्लो बारबासले निर्देशन गरेको ‘एभरेस्टः द हार्ड वे’लाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएको छ। निर्देशक अनुप बराल, स्वीस चलचित्रकर्मी क्यारोलिन फिक र स्वीस लेखक मारियो कासेला कार्यक्रमका निर्णायक रहेका थिए।