काठमाडाैं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुहिएको बास्मती चामल बिक्रीबारे चासो प्रकट गरेको छ ।
समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको बास्मती चामल बिक्री गरेको विवरण सात दिनभित्र पेस गर्न भन्दै पत्र काटेको छ ।
कम्पनीले विवरण पेस गरेपछि समितिमा छलफलका लागि अघि बढाइने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तले जानकारी दिए । उनले समितिको छलफलपछि आवश्यक परेमा छानबिन समिति गठन गरी अध्ययनसमेत गर्न सकिने बताए ।
कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहरूको ३१ असार २०७८ को निर्देशनपत्रअनुसार कम्पनीको थापाथलीस्थित कार्यालयकले ‘रि–पोलिसिङ’ गरेको सो चामल ट्रकबाट १० टनको दरमा सुर्खेत पठाइएको थियो । कम्पनीले ४ सय ८७ क्विन्टल कुहिएको चामल ‘रि पोलिसिङ’ गरी ४ सय १ क्विन्टल चामल बनाएको थियो ।
कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार थापाथलीबाट जोखतौल र ढालाकाँटी गराई सुर्खेत पठाइएको थियो । कम्पनीले कसैले थाहा नपाउनेगरी २५ किलो कुहिएको बास्मती चामल र ७५ किलो नयाँ गरी १ हजार ९ सय ९० क्विन्टल चामल बिक्रीका लागि कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको थियो । राजधानी दैनिकमा समाचार छापिएकाे छ ।