अछाम - अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो। बाढीका कारण ५ वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्यो।
गाउँपालिकामा निर्माणाधीन दुई आयोजनामा क्षति पुर्याउँदा आयोजनाको काम निकै प्रभावित मात्रै नभएर गाउँपालिकाका पूरै वडा अन्धकार भएका छन् । बाढीका कारण आंशिक प्रभाव परेका तीनवटा आयोजना सञ्चालन भएपनि अन्य आयोजना अहिलेसम्म पनि सञ्चालनमा आइसकेका छैनन्। सबै वडामा जलविद्युतकाे पहुँच पुगेको गाउँपाकिका डेढ वर्षदेखि उज्यालोबाट बञ्चित भएका छन्। लाखौँको लगानीमा निर्माण भएका आयोजना अलपत्र हुँदा त्यसको पुनः निर्माणका लागि स्थानीय तहले कुनै पहल नगरेको स्थानीयले गुनासो गर्दै आएका छन्। वडा नं १ का रामबहादुर विकले मलातिकोट साना लघुजलविद्युत् आयोजनाबाट उज्यालो पहुँचमा आएको बताउँदै लामो समयसम्म वडाका नागरिक विद्युतबाट बञ्चित हुनुपरेको बताए।
वडा नं २ मा पनि सबैभन्दा पहिले बिजुली बलेको थियो । डोग्री खोलाको पानीबाट २० किलोवाट क्षमताको विद्युत आयोजना सञ्चालनमा आएको भएपनि स्थानीय सरकारले त्यसलाई कैलाश खोलामा सार्ने र त्यसको क्षमता बढाउने भन्दै विद्युत सेवा बन्द भयो। अहिलेसम्म न त बिजुली बल्यो न त आयोजना नै सफल भयो । पहिले उपभोक्ता समितिमार्फत काम भएको आयोजना अहिले ठेक्का प्रक्रियामार्फत निर्माण हुन लागेको छ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउँदले अहिले वडा नं ३, ५ र ७ का केही भागमा मात्रै विद्युत सेवा सञ्चालन रहेको बताउँदै अन्य क्षेत्रमा अझै विद्युत्को पहुँच पुर्याउन नसकिएको बताएका छन्। गत वर्षको बाढीका कारण पाँच वटा आयोजनामा पूर्णरुपमा क्षति भएकाले त्यसलाई शुन्यबाटै सुरु गर्नुपर्ने देखिएको छ भने अन्य पाँच आयोजना सञ्चालनका लागि लाखौँ रकम खर्च हुने देखिएको छ।
अध्यक्ष साउँदले भने, ‘गाउँपालिकाको बजेटले सबै आयोजना सञ्चालन गर्न सम्भव छैन। प्रदेश र संघ सरकारसँग बन्द भएका लघुजलविद्युत आयोजना सञ्चालनका लागि पटकपटक समन्वय भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल अझै हुन सकेको छैन।’ उसो त गाउँपालिका रहेको वडा नं ३ सम्म राष्ट्रिय प्रसारण लाइनसमेत पुगिसकेको छ।
बीचमा रहेको वडा नं १ र २ का गाउँ अझै अध्याँरोमा रहेका छन्। घरको आँगनबाट राष्ट्रिय प्रसारण लाइन जाँदा पनि विद्युतकाे उज्यालोबाट रामारोशनका जनता बञ्चित हुँदै आएका छन्। स्थानीय हर्क विकले भने, ‘चार वर्ष भइसक्यो आयोजनाको काम सुरु भएको नत बिजुली बाल्नका लागि स्थानीय सरकारले तत्परता देखाउँछ न त राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि।’
गाउँपालिका अध्यक्ष साउँदले चालू आर्थिक वर्षमा वडा नं १ को केही भाग, वडा नं ४, वडा नं ५ को भटाकाटिया क्षेत्रमा पुर्याउने तयारी भएको बताए। उनले लघुजलविद्युत् आयोजनाको मापदण्ड र विद्युत प्राधिकरणको मापदण्ड फरक परेका कारण पनि पुरानो संरचनामा काम नहुने भएका कारण गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन समस्या भएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष साउँदले भने, ‘गाउँपालिकाको ग्रामीण बस्तीमा जहाँ विद्युत्को पहुँच पुर्याउन कठिन भएका बस्तीमा सोलारको व्यवस्थाका लागि संघीय सरकारबाट २ करोड ५० लाख बजेट आएको छ। गाउँपालिकाका नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने प्रयत्नमा लागिपरेका छौं।’