काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ। सोमबार सामान्य अङ्क(०.०८)ले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने घटेको छ। आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अङ्कले बढेका छन्।
नेप्सेका अनुसार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु. २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ।