काठमाडौँ - इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी-२० क्रिकेट आज हुँदैछ। खेल कराचीमा बेलुका सवा ८ बजेबाट सुरु हुनेछ। यी २ देशले ७ खेलको टी-२० शृङ्खला खेलिरहेका छन्। यसअघि भएका ३ खेलमा इङ्ग्ल्यान्डले २ र पाकिस्तानले एउटा खेल जितेको छ।
शृङ्खलामा इङ्ग्ल्यान्ड २-१ ले अगाडि रहेको छ। आजको खेल जितेमा घरेलु टोली पाकिस्तानले शृङ्खलामा २-२ को बराबरी गर्नेछ। पहिलो खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। त्यस्तै दोस्रो टी-२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो। तेस्रो टी-२० क्रिकेटमा पाकिस्तान ६३ रनले पराजित भएको थियो।
२ देशबीचको पाँचौँ खेल बुधवार, छैटाैँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी-२० खेल आउँदो आइतवार हुनेछ। इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो। इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो।