काठमाडौँ - युरोपको विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ। जर्मनीले विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो।
जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ। जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो।
सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै दुइ देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ।
श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले जर्मनीको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको बताए।
‘केही हाम्रा मान्छेहरू लैजाने अनि त्यसपछि ट्रेनिङ दिने कुरा भइरहेको छ। उनीहरूले ट्रेनिङसँगै रोजगारी दिइने कुरा छ,’ पोखरेलले भने।
जर्मनीले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूद्वारा ड्राफ्ट तयार पारिएको थियो। उक्त ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा रहेको सहसचिव पोखरेलले बताए।
जर्मनीले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र रोजगारी पनि दिनेछ। प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन्।
जर्मनीले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनेछ। सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनीमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजीसमेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ।
नेपालले खासगरी खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ। युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको उनको भनाई छ।